भ्यरिकोसिल र बाँझोपन


प्रा.डा. अर्जुनदेव भट्ट | २०७२ पौष २४ शुक्रबार 28 पटक पढिएको
शुक्रग्रन्थी अण्डाशयमा पेट बाहिर हुनुको रहस्य बुझ्न सके भ्यारिकोसिलले पुरुषलाई के कति नोक्सान पुर्‍याउन सक्छ, त्यो अनुमान गर्न सकिन्छ। शरीरभित्र शुक्रग्रन्थी भएका खण्डमा तिनीहरू उच्च तापक्रमका कारण पुरुष हर्मोन टेस्टोस्टेरोन उत्पादन गर्न सक्दैनन्। 
 
फलस्वरूप शुक्रकीटको उत्पादन तथा सम्पूर्ण मांसपेशीको शक्तिमा नराम्रो असर पर्छ। यस्तो अवस्था आएर पुरुष वंश वृद्धि क्षमता नै नष्ट नहोस् भन्न नै शुक्रग्रन्थीहरू अण्डाशयमा शरीरबाहिर छन्। भ्यारिकोसिलले तापक्रम व्यवस्थापनमा अवरोध पुर्‍याएर शुक्रग्रन्थीको कार्यमा नराम्रो असर पुर्‍याएका खण्डमा उपचार अनिवार्य हुन्छ। शुक्रग्रन्थीमा रगत लैजाने नसालाई ग्रन्थीबाट रगत फर्काउने नसाहरूको जालोले बेरेको हुन्छ। 
 
यस्को मुख्य उद्देश्य ग्रन्थीमा आउने रगतको तापक्रम त्यहाँ पुग्नुअगाडि नै कम गर्नु हो। तर, भ्यारिकोसिलले फुलेको नसाहरूले तापक्रम घटाउने प्रक्रियालाई सफल हुन नदिएर अण्डकोषको तापक्रम केही उच्च बनाउन मद्दत गर्छ। फलस्वरूप शुक्रकीट बन्नमा यसले नकारात्मक असर गर्छ र शुक्रग्रन्थीको साइज पनि घटाउँछ।
 
के हो भ्यारिकोसिल ?
अण्डकोषभित्र शुक्रग्रन्थीबाट रगत लैजाने नसाहरू फुलेको, तन्केको र बांगोटिंगो भए भ्यारिकोसिल भन्ने गरिन्छ। अण्डकोषमा शुक्रग्रन्थीबाट रगत प्रवाह गर्ने प्यामपिनी फर्म प्लेक्सस नाउँ पाएका रक्त नलीको जालो हुन्छ। 
 
त्यहाँ एकतर्फ मात्र बग्नुपर्ने रगतको प्रवाह रोगका कारण दुवैतर्फ हुने भएकाले फुल्ने, तन्केर लामो र बांगोटिंगो हुन्छन्। यस्ता रक्तनसाहरू खास गरेर उभिएको अवस्थामा वा खोक्दा वा कन्दा अण्डकोषमा प्रस्ट देखा पर्ने गर्छन्।
 
सामान्यतया दुई प्रकारका भ्यारिकोसिल देखा पर्ने गर्छन् । स्वस्फुरित भ्यारिकोसिल बढी देब्रेतिर, प्रायः जवान अविवाहित पुरुषमा देखा पर्छ। द्वितीय प्रकारको भ्यारिकोसिल प्रायः अधबैंसे उमेरको पुरुषमा देखा पर्छ । यो कुनै बाहिरी अंग (कलेजो, मिर्गाैला वा फियो)ले शुक्रग्रन्थीको नसालाई थिचेर हुन्छ। 
 
यो प्रकारमा उठेको वा पल्टेको कुनै पनि अवस्थामा फुलेका नसाहरू देखा पर्छन् । जब कि पहिलो प्रकारमा पल्टिँदा फुलेको नसा हराउँछन्।
भ्यारिकोसिल लक्षणयुक्त वा लक्षणहीन पनि हुन्छ। 
 
यो अवस्थाले शुक्राणु उत्पादन वा तिनीहरूको गतिमा असर पार्छ। यौवनावस्थापछि २० प्रतिशत पुरुषमा भ्यारिकोसिल देखा पर्छ र करिब एक तिहाइमा दुवैतिर। यो रोगबाट ग्रस्त पुरुषमध्ये धेरैमा बाँझोपन पनि देखा पर्न सक्छ।
 
बाँझोपन र भ्यारिकोसिल
विभिन्न अन्तर्राष्ट्रिय आँकडाअनुसार प्राथमिक बाँझोपन हुनेमाझ ४० प्रतिशत भ्यारिकोसिलको भूमिका रहन्छ। तर पनि भ्यारिकोसिलमा किन बाँझोपन हुन्छ भन्नेबारे वैज्ञानिकहरू एकमत राख्दैनन्। निम्नलिखित असरले गर्दा बाँझोपन गर्न सक्छ भन्ने मान्यता बढी वैज्ञानिकहरू राख्दछन्।
 
भ्यारिकोसिलमा शुक्रग्रन्थीको तापक्रम ०.८ प्रतिशत ले बढी हुन्छ । फुलेको रक्त नसामा दुवैतिर रक्तसञ्चार हुने हुँदा शुक्रग्रन्थीलाई चिस्याउने क्रियामा आघात पुग्छ।
 
समयमै अक्सिजन र अरू महत्पूर्ण तत्वहरूबाट विहीन भएको रगत अण्डकोषबाट पूरै मात्रामा नफर्कने भएकाले अक्सिजनको कमी हुन्छ।
भ्यारिकोसिलले शुक्रकीट उत्पादन तथा शुक्रकीटको गतिमा कति हानि पुर्‍याएको छ भन्ने थाहा पाउन गरिने एउटा मुख्य तथा अनिवार्य जाँच हो वीर्य परीक्षण।
अक्सिजनको कमीले ल्याउने तनाउले प्रमुख रूपमा पुरुष हर्मोन उत्पादन गर्ने अन्तरालीय लाइडिग कोषलाई नराम्रो असर गर्छन्। फलस्वरूप पुरुषत्व कायम गर्न हर्मोनको मात्रा घटेर शुक्रकीट उत्पादन र त्यसको प्राकृतिक विकाशमा कमी ल्याउन सक्छ। यो रोग लामो समय उपचारबिना भए शुक्राशयको तौल कम तथा आकार पनि सानो हुन्छ।
 
रोग निदान
उपयुक्त वातावरणमा बसेर बिरामीसँग उसको सबै कुरा सुन्ने गरिन्छ। अण्डकोषमा तातो अनुभूति, पीडा वा गह्रुँगो तथा भारी अनुभव भएका खण्डमा कहिलेदेखि? विस्तारै विकसित भयो वा छोटो समयमा एक्कासि ? सुरु भएदेखि रोग त्यही स्तरमा छ कि बढ्दैछ ? 
 
हिँड्दा, उठेको अवस्थामा वा के पल्टिएको समयमा पनि पीडा वा भारीपन अनुभव हुन्छ ? यी सबै प्रश्नका उत्तरले रोग निदानमा ठूलो योगदान पुर्‍याउँछन्। उभिइरहेको पुरुषलाई ठाडो र पल्टेको अवस्थामा जाँच्दा अण्डकोषभित्र फुलेको रक्त नसाहरू सजिलैसँग अनुभूति गर्न सकिन्छ।
 
अझ बढी प्रस्टसँग फुलेको बांगाटिंगा नसा महसुस गर्न बिरामीलाई भालसेल्भा युक्ति र चाल गरेर हेर्नुपर्छ । त्यसनिम्ति उठेको अवस्थामा सक्दो लामो सास भित्र तानेर मुख नाक बन्द गरेर कन्न लगाउनुपर्छ।
 
भ्यारिकोसिलले शुक्रकीट उत्पादन तथा शुक्रकीटको गतिमा कति हानि पुर्‍याएको छ भन्ने थाहा पाउन गरिने एउटा मुख्य तथा अनिवार्य जाँच हो वीर्य परीक्षण। यो जाँच शल्य उपचार गर्नुअगाडि कुनै पनि हालतमा गर्नैपर्छ र बाँझोपन पुरुष संलग्न हो अथवा होइन भन्ने महत्वपूर्ण आधार दिन्छ। 
 
यदि वीर्य जाँचमा दुई करोडभन्दा कम शुक्रकीटको घनत्व (प्रत्येक मिलिलिटर वीर्यमा) भए र त्यस्तो वीर्यलाई बाँझोपनको पुरुष संलग्न कारण भन्नुपर्छ । त्यसबारे एकपटकको सम्पूर्ण वीर्य स्खलनमा चार करोडभन्दा कम गतिपूर्ण शुक्रकीट भए पुरुषलाई बाँझोपनको कारण मान्नुपर्छ।
 
रंगीन डोप्लर जाँच खास गरेर पहिलो श्रेणी र स्तरको वा सानो भ्यारिकोसिल थाहा पाउन र अरू श्रेणीमा पनि नसा कतिसम्म फुलेका छन् भनी पत्ता लगाउन र उल्टो दिसामा रक्त सञ्चार भएको छ वा छैन भन्न रंगीन डप्लर जाँच निकै महत्वपूर्ण हुन्छ। 
 
यो जाँचमा फुलेको नसाको भाल्सेल्भा युक्ति गर्दा ३-३.५ मिलिमिटर वा बढी नसाका नाप र रगतको उल्टो बेग रेकर्ड भए भ्यारिकोसिलको निदान अकाट्य हुन्छ।
 
उपचार
भ्यारिकोसिलको उपचार सामान्यतया दुई अवस्थामा गर्नुपर्छ। पहिलो-अण्डकोषमा ज्यादै पीडा महसुस भएर वा शुक्रग्रन्थी सुकेर सानो हुँदै गए। 
 
दोस्रो भ्यारिकोसिलले गर्दा शुक्रकीटको संख्या तथा गतिमा असर परेर बाँझोपन देखा परे वा त्यो अवस्था नआओस् भन्न। यो रोगको एउटामात्र प्रभावकारी उपचार भनेकै शल्यक्रिया हो । शल्य उपचारमध्ये निम्न दुई तरिका बढी प्रचलनमा छन्।
 
पालोमो शल्यक्रिया
पेटभित्रका झिल्लीको पछाडितिर गएर प्रायः शुक्रग्रन्थीका सबै नसालाई दुईतिरबाट बाँध्ने र बीचको एक भाग काटेर निकाल्ने गरिन्छ। यो विधिको नकारात्मक असर भनेको करिब सात प्रतिशत बिरामीमा हाइड्रोसिल हुनसक्छ र फेरि रोग दोहोरिने सम्भावना १५ प्रतिशतसम्म पुग्नसक्छ।
 
काछमुनि नसबन्धन
काछको तल प्रवेश गर्दै सोझै शुक्रग्रन्थी अड्काउने नलीमा पहुँच राखेर सूक्ष्मदर्शी उपकरणको सहयोगबाट शुक्रग्रन्थीमा रगत लैजाने, लिम्फ प्रवाह गर्ने नसा बचाउँदै खाली शुक्रग्रन्थीबाट रगत लैजाने फुलेका नसाहरू बाँध्ने र काट्ने कार्य गरिन्छ। त्यसैले यो विधिमा पछि गएर हाइड्रोसिल हुँदैन र फेरि रोग दोहोरिने सम्भावना न्यून (दुई प्रतिशतभित्रै) रहन्छ।
 
शल्यक्रिया भएको तीन महिनापछि बिरामीको वीर्य जाँचेर त्यसमा केकति संख्यात्मक तथा गुणात्मक परिवर्तन आयो, हेर्नुपर्छ । सालाखाला ७० प्रतिशत बिरामीमा शुक्रकीटको संख्या तथा गतिमा सुधार देखिन्छ। 
 
त्यसैले भ्यारिकोसिलले बाँझोपन गरेको रहेछ भने त्यसको शल्यक्रियापछि सन्तानको रहर पुर्‍याउन सकिने सम्भावना उच्च हुने हुँदा यो उपचारलाई समयमै अपनाउनु उपयुक्त हुन्छ।
 
-लेखक वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन्।  
aannapurna post

Comments