- अतुल मिश्र ,
राजधानीको वसुन्धरा बस्ने ४५ वर्षीया मीना खुट्टा
सुन्निने समस्याले दिक्क भइसकेकी थिइन् । उनी चिकित्सककहाँ पुगिन् । पिसाब
खुलाउने औषधि दिए चिकित्सकले । समस्या सल्टिनुको साटो थपियो ।
उनले व्यावसायिक नाम ‘लेसिक्स’ भएको ‘फ्रुसिमाइड’ समूहको पिसाब गराउने औषधि
एक साता सेवन गरेपछि खुट्टा सुन्निने समस्या त हरायो, तर रिंगटा लाग्ने,
रक्तचाप घट्नेजस्ता समस्याले हैरान पार्यो ।
अब रिंगटा लाग्ने, रक्तचाप घट्ने समस्या हटाउन उनी मुटु रोग विशेषज्ञकहाँ
पुगिन् । रक्तचापमा कमी, मृगौलाको कार्य प्रणालीमा समस्या आदि देखिएको बताए
चिकित्सकले ।
‘उहाँलाई पिसाब गराउने औषधि सेवन गरेकै कारण रक्तचापमा कमी, मृगौलाको
कार्यप्रणालीमा समस्या देखिएको हो,’ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिल
भन्छन्, ‘खुट्टा सुन्निएको कारण थाहा नपाई औषधि सेवन गर्नु धेरै खतरनाक हो
।’
दुखाइ नाशक जस्तै पिसाब लगाउने औषधिसमेत खतरनाक मानिन्छ । यो औषधिले
मृगौलालाई बढी पिसाब लगाउन बाध्य पार्छ । यसले शरीरमा पानीको कमी, सोडियम,
पोटेसियम, क्लोराइड जस्ता खनिज लवणको सन्तुलन बिग्रिन्छ ।
‘यो खनिज लवणको सन्तुलन स्वस्थ व्यक्तिसँगै रक्तचाप, मुटु र मृगौला रोगीको
लागि भने झनै अत्यावश्यक छ,’ डा. ओम भन्छन् ।
मीनाका आफन्तका अनुसार, खुट्टा सुन्निएपछि एक चिकित्सककहाँ देखाउँदा उनले
पिसाब लगाउने औषधि प्रस्तावित गरेका थिए । एक साता उक्त औषधि सेवन गर्दा
खुट्टा सुन्निने समस्या कम भए पनि रिंगटा लाग्ने, रक्तचाप घट्नेजस्ता
समस्याले आत्तिएर उनलाई मुटु रोग विशेषज्ञकहाँ पुग्नुपरेको थियो ।
खुट्टा सुन्निनेबित्तिकै सुन्नाइ गर्न फ्रुसिमाइड औषधिको प्रयोग एउटा
विशेषज्ञद्वारा रोग पहिचान भइसकेपछि मात्र उपयुक्त मात्रामा निर्धारित
समयको लागि चिकित्सकीयसुपरीवेक्षण र औषधिको साइड इफेक्टलाई नियमित अनुगम
गर्दै प्रस्तावित गरिन्छ ।
‘मुटु र मृगौला रोगीहरूमा यस्ता औषधिहरूको प्रयोग निगरानीबिना गरिँदा
प्राणघातक समेत हुन सक्छ,’ ओम भन्छन्, ‘विशेषगरी पोटेसियमको सन्तुलन मुटु
रोगीको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।’
विज्ञहरूका अनुसार, खुट्टा सुन्निनु अर्थात् इडिमा एकदमै सामान्य समस्या हो
। यसका कारणहरू अति सामान्यदेखि अत्यन्त जटिलसम्म हुन सक्छन् ।
४०–४५ वर्षका महिलाहरूमा हार्मोनको असन्तुलन वा मोटोपनाले पनि खुट्टा
सुन्निने समस्या हुन सक्छ । यस्तो भए कुनै औषधि–उपचारको आवश्यकता हुँदैन ।
खुट्टा सुन्निने समस्या महिलाहरूमा बढी हुन्छ, त्यो पनि सामान्य कारणले
गर्दा ।
तर, अर्कोतिर मुटु वा मृगौलाको जटिल समस्या भएर पनि खुट्टा सुन्निन सक्छ ।
खास कुरा पत्ता लगाउन विभिन्न प्रकारका जाँच र उपचारको आवश्यकता पर्न सक्छ ।
खुट्टा सुन्निनु यस्ता रोगहरूको एउटा लक्षण मात्र हो, जसले रोग पहिचान
गर्न मद्दत गर्छ । रोगको प्रकृतिमा धेरै ध्यान नदिँदा र खुट्टा सुन्निने
लाई कम गर्नका लागि मात्र औषधि प्रयोग गर्नु घातक हुन सक्छ ।
‘हामीले सबैभन्दा बढी खुट्टा सुन्निने समस्या औषधिको साइड इफेक्टले भएको
पाउँछौं,’ ओम भन्छन्, ‘यसमा उच्च रक्तचाप नियन्त्रण गर्ने औषधिहरू
एम्लोडिपिन, निफेडिपिन, प्राजोसिन आदि प्रमुख छन् ।’
प्राय: बिरामीहरू यस्ता औषधिको प्रयोग गरेपछि खुट्टा सुन्निँदा आत्तिएर
विभिन्न चिकित्सकसँगै मृगौला रोग विशेषज्ञकहाँ पुगेर विस्तृत जाँच गराए पनि
उनीहरूमा केही खराबी देखिँदैन ।
कुनै समस्या नदेखिएपछि यस्ता बिरामी कुन कारणले खुट्टा सुन्नियो भनेर
विभिन्न चिकित्सककहाँ भौंतारिरहन्छन् । जब कि त्यो खुट्टाको सुन्नाइ औषधिले
भएको अवस्थामा औषधिको मात्रा घटाउँदा वा औषधि परिवर्तित गर्दा समस्या आफैं
हराउन सक्छ । यसले एक दुई सातामा समस्या हटाउँथ्यो, अनावश्यक पीडा हुने
थिएन ।
‘रक्तचापका अधिकांश बिरामीमा औषधिको प्रयोग गर्दा अलिअलि खुट्टा सुन्निने
समस्या देखिन सक्छ,’ ओम भन्छन्, ‘तर यसबाट नआत्तिएर रक्तचापको राम्रो
नियन्त्रण भइसकेपछि डाक्टरको सल्लाहअनुसार औषधि परिवर्तन गरेर सुन्नाइ
घटाउनु सर्वोत्तम उपाय हो ।’
दुई प्रकारका मृगौला रोगीमा खुट्टा सुन्निन्छ । यस अन्तर्गत मृगौलाको काममै
कमी भए, जसलाई किड्नी फेल्योर (क्रोनिक किड्नी डिजिज) भनिन्छ, बिरामीमा
खुट्टा सुन्निनुका साथै अन्य अंग (जस्तै : अनुहार लगायत) मा पनि बढी पानीको
कारण सुन्निने गर्छ ।
त्रिवि शिक्षण अस्पतालका मृगौला रोग विशेषज्ञ डा. महेशराज सिग्देलका अनुसार
मृगौलाबाट पिसाबको माध्यमले प्रोटिन निष्काशन भएमा समेत खुट्टा सुन्निने
हुन्छ । अर्थात्, शरीरमा प्रोटिनको कमी हुँदासमेत सुन्निन्छ । प्रोटिनले
पानीलाई रक्तनलीमा जम्मा गरेर राख्छ ।
विज्ञहरूका अनुसार, कलेजोका कारण पनि सुन्नाइ हुने गरेको छ । कलेजोको
रोगीमा प्रोटिनको कमी भएर खुट्टा सुन्निने समस्या देखिन्छ । थाइराइडको कमी
भए खुट्टा सुन्निन्छ तर थाइराइडको उपचार हुनेबित्तिकै समस्या हराउँछ ।
फोक्सोको कारणले गर्दा दीर्घ दम (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) का
रोगीमा समेत खुट्टा सुन्निने समस्या देखिन्छ । प्राय: दमका रोगीहरूमा दमले
गर्दा मुटुमा असर भएपछि खुट्टा सुन्निने गरेको उल्लेख गर्दै डा.ओम उच्च
रक्तचाप राम्ररी नियन्त्रण नभएमा समेत खुट्टा सुन्निन सक्ने बताउँछन् ।
‘मुटुका विभिन्न रोगहरूमा प्राय: खुट्टा सुन्निने समस्या देखिन्छ,’ ओम
भन्छन् । खुट्टा सुन्निए सँगसँगै स्वाँस्वाँ हुनु, मुटु ढुकढुक हुनु, थकाइ
लाग्नु, कमजोरी देखिनु, छाती दुख्नु, रिंगटा लाग्नु, बेहोसी हुनु, पेट
सुन्निनु, घाँटीका नसाहरू चल्नुजस्ता लक्षण देखिए पनिमुटु रोगले गर्दा
खुट्टा सुन्निएको हुन सक्छ ।
यस्तै मुटु रोगीमा खुट्टा सुन्निनुको साथसाथै पेट सुन्निनु, फोक्सोमा पानी
जम्नु र स्वाँ–स्वाँ हुनु हार्ट फेल्योरका लक्षण हुन् ।
डा.ओमको अनुसार प्राय: मुटुको पम्पिङमा कमी भएर वा भल्भको समस्या भएकाहरूमा
खुट्टा सुन्निने गर्छ । समष्टिगत रूपमा खुट्टा सुन्निने कारण, यदि मुटु,
मृगौला वा कलेजोसँग सम्बन्धित हो भने मात्रै फ्रुसेमाइड जस्तो पिसाब लगाउने
औषधिको प्रयोग गर्न मिल्छ । त्यो पनि कडा चिकित्सकीय निगरानीमा हुनुपर्छ ।
यी अवस्थाबाहेक यस्ता औषधिहरूको प्रयोग विशेषज्ञको निगरानीमा थोरै समयका
लागि मात्रै सेवन गर्नु उपयुक्त हुने डा.ओम बताउँछन् ।
स्थानीय कारणले समेत खुट्टा सुन्निन सक्छ । यस अन्तर्गत खुट्टाको रगत नलीमा
समस्या वा संक्रमण भएर खुट्टा सुन्निने गर्छ । तर यस्तो खुट्टाको सुन्नाइ
प्राय: एउटै खुट्टामा देखिने गर्छ । तर दुवै खुट्टामा सुन्नाइ भए रोग
शरीरको कुनै प्रणालीसँग सम्बन्धित ठान्नुपर्छ । सुन्निनु रोगको संकेत हो ।
डा.ओमको आकलन अनुसार ह्दयरोग विशेषज्ञकहाँ पुग्ने बिरामीहरूमा करिब १५ देखि
२० प्रतिशत खुट्टा सुन्निने समस्या लिएर आउने गरेका छन् ।
कहिलेकाहीं पिसाब लगाउने औषधि डाक्टरले एक साताको लागि दिए पनि बिरामीले
पछि आफूलाई पुन: समस्या हुँदा बिना कुनै्र सल्लाह उपयोग गर्ने गरेका छन् ।
पिसाब लगाउने औषधिले खाएको बेलासम्म मात्र सुन्नाइ कम गर्छ । यदि
तपार्इंलाई सामान्य कारणले खुट्टा सुन्निन्छ भने बस्ने बेलामा खुट्टा माथि
राख्नुस्, स्टकिङ लगाउनुस्, सुत्ने बेलामा खुट्टा तल सिरानी राख्ने गर्नुस्
।
- खुट्टा सुन्निने कारणहरू
- गर्भावस्था वा मोटोपना
- लामो समयसम्म उभिनु
- लामो समयसम्म बस्नु औषधिको साइड इफेक्ट
Comments
Post a Comment